काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गरेका छन् ।
नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताएका हुन् ।
एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने आफ्नाे भनाइमा चित्त नदुखाउन आग्रह गर्दै उनले भने, “विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरु सकडमा आन्दोलनमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेको छ । कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस् । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस् ।”
प्रतिगामी तत्त्वहरु सल्बनाएका बेला शिक्षकहरुले आन्दोलन गर्ने उपयुक्त समय नभएकाे भन्दै प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरु सल्बनाएका बेला तपाईँहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’
प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, सङ्कलन र सम्प्रेषण गर्छाैँ भन्ने अति महत्त्वको विषयमा मनन् गर्न सम्झाए ।
उनले यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसमा उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रतिक्रिया