रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएकाे छ ।

मंगलबारको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ ।

रवि हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएकी हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने यसअघि निवेदन लिएर सर्वोच्च गइसकेका छन् । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

उक्त आदेशपछिको सुनवाइ नहुँदै लामिछानेको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । रिटमा लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ ।