कम्युनिस्ट एकता छाडेका छैनौं : प्रचण्ड

कम्युनिस्ट एकता छाडेका छैनौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरू एकता गर्ने कुराबाट आफू नथाकेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अवसरवाद र व्यक्तिवादका कारण कम्युनिस्ट एकता सफल हुन नसकेकाे बताए ।

‘पार्टी एकताको प्रस्ताव अघि सारेँ । तर, अवसरवाद र व्यक्तिवादका कारण त्यो सफल हुन सकेन,’ प्रचण्डले भनेका छन्, ‘तर, हामी त्यसबाट थाकेका छैनौं । आत्तिएका पनि छैनौं । कम्युनिस्ट आन्दोलनको एकता छाडेका पनि छैनौं । छाड्दा पनि छाड्दैनौं ।’

प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको जिकिर गरे । ‘सच्चा कम्युनिस्टलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो,’ प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरूले त माओवादी सिध्धिए भनेर घोषणा गर्छन् तर माओवादी सधैं उठ्छ ।’

अध्यक्ष प्रचण्डले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरे । कम्युनिस्ट पार्टीले राम्रो काम गरिदिउन् भन्ने जनताको चाहना भएको बताए । उनले कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रचण्डले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनमा सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पनि आज सङ्कल्प गर्नुपर्ने दिन हो ।’

उनले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै काँधमा भएको जिकिर गरे ।

प्रचण्डले थपे, ‘यो कुनै अहंकारको कुरा होइन, यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो । अहिले हामीले जे गरिरहेका छौँ । प्रतिक्रियावादी र अवसरवादीहरूले हामीलाई जहिले पनि अपमानित गर्ने, सिद्धियो माओवादी भनेर घोषणा गर्छन्, तर हामी उठेर आउँछौँ । जनयुद्धको बेलामा पनि त्यस्तै घोषणा गरेका थिए । तर, हामीले जनयुद्ध सफल बनाएर यहाँसम्म आइपुगेका छौँ ।’

उनले विगतका कमीकमजोरीलाई सच्याएर जनताको बीचमा जाने संकल्प गर्नु नै सच्चा कम्युनिस्ट भएको जिकिर गरे ।