पार्टी कार्यालयमा राणालाई सूर्यमुखीको बुकी, अध्यक्ष लिङदेनविरुद्ध गाली

पार्टी कार्यालयमा राणालाई सूर्यमुखीको बुकी, अध्यक्ष लिङदेनविरुद्ध गाली


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा उपचारको लागि भोलि भारत जाँदैछन् । क्यान्सर पीडित उनी फ्लोअपको लागि श्रीमतीसहित मुम्बई जान लागेका हुन् ।

तीनकुने प्रकरणमा २४ दिन हिरासत बसेका राणालाई उपचारको लागि अस्ति साँझ हाजिर जमानीमा रिहा गरिएको थियो । हिजो धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका उनलाई अन्य नेता तथा कार्यकर्ताले सूर्यमुखी फूलको बुकी प्रदान गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

राणाले फ्लोअपको लागि चिकित्सकसँग अपोइन्टमेन्ट लिइसकेको जानकारी दिएका छन् । ‘फ्लोअप हो, सामान्य रहेछ भने दुई चार दिनमै फर्किहाल्छु’, उनले भने, ‘डाक्टरले सिरियस छ भनेमा चाहिँ केही समय उतै बस्छु ।’

स्वास्थ्यलाभको कामना गर्न राजतन्त्र पुनस्र्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता सगुनसुन्दर लावती स्वास्थ्यलाभको कामना गर्न पार्टी कार्यालय पुगेका थिए । स्वास्थ्यलाभको कामना गरेको तस्बीर प्रवक्ता लावतीले सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उक्त तस्बीरमा कमेन्ट गर्ने अधिकांशले राणाको स्वास्थ्यलाभ कामना गरेका छन् । साथै केहीले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेका थिए ।

खगेन्द्र गिरी कोपिला लेख्छन्–
राजेन्द्र लिङ्देनज्यू !
तपाईं यसरी किन ठुस्केको ? गणतन्त्रविरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक भएर लड्नु पर्ने बेलामा तपाइँले ठुस्केर एक्लै लड्ने रहर गर्नु भएछ। तपाइँले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको गठनप्रति पनि असहमति प्रकट गर्नु भएछ। आफ्नै पार्टीका महामन्त्री बन्दी अवस्थाबाट मुक्त भएर फर्केको कार्यक्रममा पनि आउनु भएन ? किन यति सारो एक्लै हिड्ने रहर लागेको हो नि तपाइँलाई ?

यसैगरी विष्णुदत्त जोशी लेख्छन्-
राजतन्त्र फर्काउन जनताले साथ दिई राखेको बेला यसरी ठुस्केर जश पाउने मौका गुमाउनु हुदैन नि हजुर ? ठुला स्याना कसैले ठुस्केर हुँदैन सबैले मिलेर एक भएर मात्र सम्भब छ ?