काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भेटघाट भएको छ ।
विश्वविजेता कार्लाेस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको खेल हेर्न काठमाडौं आएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कार्लाेसलाई ‘माउन्टेन फ्लाइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुशी लागेको बताए ।
एनएसएलको दोस्रो क्वालिफायरमा आज बेलुकी ६ बजे दशरथ रङ्गशालामा पोखरा थन्डर्स एफसी र धनगढी एफसी खेल्दैछन् । यो खेलको विजेताले उपाधिका लागि शनिवार ललितपुर सिटी एफसीसँग खेल्नेछ । कार्लाेसले याे खेल हेर्नेछन् ।
प्रतिक्रिया