देउवा पक्षका पूर्वपदाधिकारीहरु कोइराला निवासमा

देउवा पक्षका पूर्वपदाधिकारीहरु कोइराला निवासमा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् । कांग्रेसकाे १५ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूमा भेटघाट र छलफलको दौडधुप बढेको छ ।

देउवानिकट पूर्वपदाधिकारीहरू बिहीबार पूर्वमहामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा पुगेका हुन् । नेता कोइरालाकै निम्तोमा उनको घरमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरु पुगेका छन् ।

साथै छलफलमा केन्द्रीय सदस्यहरू एनपी साउद, ऊर्जा मन्त्री दीपक खड्का, पुष्पा भुसाल, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, गुरू बराल, शिव हुमागाईं, अम्बिका बस्नेत, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका थिए ।

कोइराला निवासमा आज चियापान समारोह पनि आयोजना गरिएको हाे ।

१४ औं महाधिवेशन तयारी चल्दै गर्दा पनि शशांक-विमलेन्द्र-प्रकाशमान सिंहबीच छलफल हुँदै आएकाे थियाे । कांग्रेसको १५ औं महाधिवेशनका लागि पनि उनीहरूले एकअर्काका निवासमा पुगेर छलफल गर्दै आएका छन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र तीनै जना १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए ।

यसअघि छलफल विमलेन्द्र निधिको निवासमा भएको थियो भने त्यसअघि प्रकाशमान सिंहकोमा भएको थियो ।

सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट १५ औं महाधिवेशनमा सभापति उम्मेदवार चयन गरेका छैनन् ।