आन्दोलनकाे २३ औं दिनमा शिक्षकहरूले गरेर सडकमै रक्तदान

आन्दोलनकाे २३ औं दिनमा शिक्षकहरूले गरेर सडकमै रक्तदान



काठमाडौं । शैक्षिक हडताल गरेर आन्दोलनमा रहेका शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । माइतीघर–नयाँबानेश्वर सडक खण्डमा विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले रक्तदान गरेका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।

उनीहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ । त्यस्तै एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।

शिक्षकहरूले विगतमा आफूहरूसँग गरेको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै आएका हुन् । ऐन जारी भएर एक थान ऐन हातमा नलगी घर नफर्किने उनीहरूको अडान छ ।

नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन् ।

“बजार हल्ला र अफवाहमा भर नपर्नुहोला । आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला । यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,” सुवेदीले सामाजिक सञ्जालमा भनेका छन् ।