नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड

नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको निष्कर्ष निकालेको छ ।

सिंहदबारमा बिहीबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि आफूलाई फोन गरेको ब्रिफिङ समेत गरेका छन् ।

‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’ प्रचण्डले बैठकमा भनेका थिए ।

वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।

उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए ।

उनले भने, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तरविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । काँग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’

प्रचण्डले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् । ‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर हुनुहुन्छ । उहाँ आएपछि छलफल हुनेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।