पर्‍यो भने हामी सरकारबाट बाहिरिन्छौं : गगन थापा

पर्‍यो भने हामी सरकारबाट बाहिरिन्छौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्‍यो भने कांग्रेस वर्तमान सरकारबाट बाहिरिने बताएका छन् ।

बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका हुन् ।

उनले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’

महामन्त्री थापाले कांग्रेस समस्याबाट भागेर नहुने बताएका छन् । समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्री थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए ।

उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए।उनले अन्य दलबाट राष्ट्रपति, उपराष्ट्रपति भएका व्यक्तिहरू राजनीतिमा फर्किएपनि कांग्रेसमा त्यस्तो नहुने भन्नसक्नुपर्ने बताए ।

उनले आफूले निराशा बढाउन नखोजेको भन्दै प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको बताए ।