काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले सरकार फेरिदैछ भन्ने संकेतहरु देखिन थालेका छन् । आँखा उपचारका लागि थाइल्याण्डको बैंकक पुगेका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को टेलिफोन संवाद, कांग्रेस शीर्ष तहका नेतृत्वबाट दिइएको अभिव्यक्ति र महिनौंसम्म सडकमा देखिएको अन्योलले नेपाली राजनीतिमा सरकार परिवर्तनको सम्भावनालाई नर्कान नमिल्ने तर्क गरिएको छ । अहिले नेकपा एमालेले नेतृत्व गरेको कांग्रेससहितको गठबन्धन सरकार छ ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले कांग्रेस सरकारबाट बाहिरन सक्ने अभिव्यक्ति दिएका छन् । आज बिहीबार बिहानमात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग कांग्रेस सभापति देउवाको टोलिफोन संवाद भएको खुलासा गरेका छन् । उनले आज बसेको माओवादी संसदीय दलको बैठकमा यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले दल बैठकमा थाइल्याण्ड जानुअघि देउवाले आफूलाई टेलफोन गरेको बताए । एक सांसदका अनुसार प्रचण्डले देउवाले आफूलाई आँखा उपचारका लागि बैंकक जान लागेको र केही महत्वपूर्ण राजनीतिक भेटघाट हुने जानकारी दिएको उल्लेख गरेका थिए ।
‘यो सरकार अब लामो जाने जस्तो देखिँदैन’, उनले भने, ‘तर, सरकार ढाल्ने खेलमा छैनौं । यद्यपि आफूहरुले कहिल्लै सरकारमा जाँदै नजाने भनेर बाचाबन्धन पनि नगरेको तर्क प्रस्तुत गरे । उनले देउवा फर्किएपछि फेरि कुराकानी हुने संकेत गरे ।
सभापति देउवा बैंकक जानुअघि नै परराष्ट्रमन्त्री आरजु देउवा बैंकक पुगेकी थिइन् । आँखा उपचारको नाममा बैंककमा सभापति देउवाले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको बताइएको छ । सभापति देउवाको महत्वपूर्ण भेटघाटपछि कांग्रेस शीर्ष नेताहरुको अभिव्यक्ति आउनु, माओवादी अध्यक्ष प्रचण्डसँग संवादमा रहनु र सडकमा देखिएको आन्दोलन मत्थर हुने संकेत नदेखिनुलाई संयोग मात्र मान्न नसकिने एक राजनीतिक विश्लेषक सुवास साहको भनाइ छ ।
प्रतिक्रिया