गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न



चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ ।

धुर्मस–सुन्तली फाउन्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा प्यारापिटमध्ये एउटाको ढलान सम्पन्न गरिएको छ । अर्काे ढलानको तयारी भइरहेको छ । दुवै टावरको पहिलो तलाको ढलानको तयारी हुँदैछ ।

अहिले दैनिक एक सय ७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेका आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनको भनाइ छ ।

गएको साउनमा बिबिआर जेभीले रंगशालाको काम शुरू गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा काम सम्पन्न गर्ने गरी कम्पनीले ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँमा ठेक्का पाएको हो ।

रंगशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराइसकेका छन् । प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रंगशालाको काम अघि बढेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सम्झौतानुसार तालिकामा काम भइरहेको बताए ।