कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्छ : कांग्रेस

कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट समय लिएर प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने बताएका हुन् । ‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ,’ घिमिरेले भने ।

घिमिरेले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताउँदै आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको बताए ।

उनले जिडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुने घिमिरेको भनाइ थियो । नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा जोड दिँदै घिमिरेले छिमेकी मुलुक भारत र चीनबाट नेपाले लिन सक्ने जति फाइदा लिन नसकिरहेको बताए ।

प्रमुख सचेतक घिमिरेले शान्ति प्रक्रियाको २० वर्षमा मुलुकमा केही नभएको भन्ने भाष्य र तर्क गलत रहेको बताए।

उनले यसलाई जिडिपीमा मारेको फड्को, प्रतिव्यक्ति आम्दानी, सरदर आयु, साक्षरता प्रतिशत, बाल मृत्युदर, मातृ मृत्युदरमा उल्लेखनीय प्रगतिले प्रमाणीत गर्ने बताए।

त्यस्तै सडक सञ्जालले ७७ वटै जिल्लालाई जोडिएको र ९८ प्रतिशत नागरिकको घरमा बिजुली पुगेका लगायत आर्थिक र सामाजिक रूपमा भएका विभिन्न परिवर्तनहरूले शान्ति प्रक्रिया यता केही पनि काम नभएको भन्ने भाष्यलाई गलत साबित गर्ने उनले बताएका हुन् ।