काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सात बुँदे सहमतिलाई इमानदार ढंगले कार्यान्वयन गर्दै अघि बढ्ने विष्टले बताए ।
उनले भने, ‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ । त्यसमा कुनै सत्यता छैन । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन् । कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन् । असहमति भए त्यहीँ नै समाधान खोजौँ ।’
उनले सरकार ढल्दैछ भनेर निराशा पैदा गर्ने काम कसैले पनि गर्न नहुने बताए ।
कांग्रेसका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै विष्टले भने, ‘कहिलेकाहीँ त यस्तो लाग्छ । सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ । यो प्रकारको अवस्थाबाट माथि उठौँ । गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ ।’
नेता विष्टले प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखा परे त्यही अन्त्य गरिनुपर्ने बताए । उनले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरे ।
नेता विष्टले जनताका संवैधानिक आकाङ्क्षालाई पछाडि धकेल्ने हर्कत देखाउनेलाई कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरे ।
‘चैत १५ गते राजावादीले तीनकुनेमा हर्कत देखाए । उनीहरूले विचार र अभिव्यक्ति राख्ने हिसाबले मात्रै कार्यक्रम गरेनन् । हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउने प्रयास गरे,’ विष्टले भने-‘जनताका संवैधानिक आकाङ्क्षालाई पछाडि धकेल्ने प्रयास गर्ने यो हर्कत देखाउनेलाई कारबाही गर्न खुट्टा नकमाओस्, संविधान र कानुनको दायरामा ल्याओस् ।’
उनले संविधानमा कसम खाने तर संविधानलाई कमजोर बनाउने काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । जनताले यो व्यवस्थालाई अति उन्नत बनाउने जिम्मेवारी दिएको बताए । लोकतन्त्रमा सरकार, दलका नेता, नेतृत्व बल्ने अधिकार राख्ने बताए ।
जन्मदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न नसक्ने विष्टको भनाइ छ । ‘जन्मदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न सक्दैन । नागरिकले निरङ्कुशता खोजिरहेका छैनन् । जनताले व्यवस्थाको विकल्प खोजेका छैनन्,’ विष्टले भने ।
प्रतिक्रिया