शिक्षा विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्नु पर्छ : माओवादी

शिक्षा विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्नु पर्छ : माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शिक्षा विधेयक छिट्टै सदनमा ल्याउन माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले शिक्षा समितिको उपसमितिमा धेरै कुरा टुंगिसकेको आफूले जानकारी पाएको सुनाए ।

उनले विधेयक फास्ट ट्रयाकबाट पारित गर्न पार्टीले सहयोग गर्ने समेत बताए । “यो विधेयक छिट्टै सदनमा आओस् । फास्ट ट्रयाकबाट यसलाई पास गराउन म माग गर्न चाहन्छु । यसका लागि सहयोग गर्न दल तयार रहेको जानकारी गराउँछु,” उनले भने ।

उपमहासचिव पुनले प्रधानमन्त्रीको बेडरुमभित्र बिचौलिया पुगेको अभिव्यक्ति दिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई धन्यवाद समेत दिए ।

‘सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु,’ पुनले भने ।

उनले यही कुरा आफूहरूले भन्दा सरकारबाट हट्दाको छटपटि भनिएको बताउँदै अहिले घरघर र सार्वजनिक मञ्चमा पनि विचौलिया र स्वास्र्थ समूहको सरकार भनिरहेको बताए ।

‘हामीले यो सरकारले विचौलिया समूहको स्वार्थमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटि भनियो,’ उनले भने, ‘आज हामीले मात्रै होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकारलाई विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’