काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध रहेकाे जनाएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार शिक्षकसँग वार्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताए । उनले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरे ।
उनले भने,‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरु समाधान गर्न प्रतिवद्ध छ । कटिवद्ध छ । म शिक्षक साथीहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु । संविधानको सीमा, ऐन, कानूनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरु खोज्न तयार छौँ । सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु ।’
सरकारको तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ ।
यता शिक्षक महासंघको टोली भने शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएपनि वीचैबाट फर्किएका छन् ।
शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छ्रन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
प्रतिक्रिया