शिक्षकमाथि बल प्रयोग गरेर सरकारले कुशासनको उदाहरण पेश गर्‍याे : शेखर कोइराला

शिक्षकमाथि बल प्रयोग गरेर सरकारले कुशासनको उदाहरण पेश गर्‍याे : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकमाथि बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण पेश गरेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकार गम्भीर नबनेको भन्दै कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ । कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’

उनले एक दुई दिनमै समस्या समाधान गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । ‘अब धेरै ढिला भयो । एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा छन् । आइतबार आन्दोलनरत शिक्षक प्रहरीबीच झडप हुँदा ३१ घाइते भएका छन् । एक सञ्चारकर्मीसमेत घाइते भएकी छन् ।