शिक्षकहरूको माग पूरा गर्न नसक्ने खालको छैन : प्रचण्ड

शिक्षकहरूको माग पूरा गर्न नसक्ने खालको छैन : प्रचण्ड

‘आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन दिनरात खटिरहेको छु’



बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूको माग पूरा गर्नै नसक्ने खालको नभएको दाबी गरेका छन् । बर्दियाको राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै शिक्षकहरूले हिजो भएको सहमति अनुसारको ऐन मागेको बताए ।

उनले भने, ‘शिक्षकहरूको माग सम्बोधन गर्ने नसक्ने खालको छैन । उहाँहरूले हिजो भएको सहमति अनुसारकै ऐन माग्नुभएको हो । त्यो भन्दा अरू कुनै ठूलो माग छैन । हिजो सरकारले गरेको सहमति, म प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू आन्दोलित भएको बेलामा मैले शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्छ भनेर सम्झौता गरेको थिएँ । त्यही सम्झौताअनुसार अहिले शिक्षकहरूले आफ्नो माग राखेर आन्दोलन गरिरहेका छन् ।’

उनले आफू प्रधानमन्त्री भएकै बेलामा सदनमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको बताए । उपसमितिमा भएको विधेयक छोटो बाटोमा टुङ्ग्याएर शिक्षकहरूलाई सजिलै विद्यालय फर्काउन सकिने बताए ।

त्यसैगरी अध्यक्ष प्रचण्डले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् । उनले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौं । मैले आफूले पनि गल्ती गरें भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु,’ उनले भने, ‘केही गल्ती गरें भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरे । ‘त्यसले आफू बिग्रिएको थाहा हुन्छ । तिनको आँशुले आफूलाई बदल्न मद्यत गर्छ । आफूलाई सच्याउन, आफ्नो वर्गतर्फ फर्किन सहयोग गर्छ ।

‘जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए,’ उनले थपे, ‘अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्मसमीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’