शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजियाे : एमाले

शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजियाे : एमाले



काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको बताएकाे छ । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै एमाले सांसद ठाकुर गैरेले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न आग्रह गरे ।

“पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ,” उनले भने, “त्यसो भए मात्रै प्रतिपक्षीका माननीयले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको अर्थ हुनेछ ।”

उनले ‘शिक्षक महासंघका नेता बैठकबाट बाहिर आएपछि समस्या ज्युँका त्युँ रहने किन भइरहेको छ ?’ भन्दै प्रश्न गरे ।

बैठकमा एउटा र सडकमा अर्को कुरा गरिँदा निकास ननिस्किएको उनको भनाइ छ ।

सांसद गैरेले एकैपटक सबै माग सम्बोधन गर्ने अवस्था नरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीलाई पनि जानकारी भएको बताए ।

बुधबार (वैशाख १७)सम्ममा वार्ता निष्कर्षमा पुर्‍याउनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने सांसद गैरेले बताए ।