मुस्ताङ : फुल्न लागेको स्याउका बोटमा वर्षाले असर

मुस्ताङ : फुल्न लागेको स्याउका बोटमा वर्षाले असर



मुस्ताङ । मुस्ताङमा फुल्न लागेका स्थानीय जातका स्याउको बोटमा पानी पर्दा असर पारेको छ ।

स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा, हावा र कुहिरोका कारण बोटमा फल लाग्न बाधा पुगेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले बताए ।

स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको उनको भनाइ छ ।

उनका अनुसार कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गर्दा स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको छैन ।

स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै ठाउँमा ढिलो फूल फुल्ने र कहीँ फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयले बताएका छन् ।

यस वर्ष स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्न सक्ने थासाङ–एक टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिए ।