गगन थापाले फेरि भने : डाँडामा बसेर लाखौं कमाउन सम्भव छ

गगन थापाले फेरि भने : डाँडामा बसेर लाखौं कमाउन सम्भव छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौं कमाउने सपना सम्भव हुने फेरि देाहाेर्‍याएका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको गुनासो गरे ।

उनले कुनै डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे । महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा उक्त सीप र क्षमताले लाखौँ कमाउने सपना पुरा हुने बताए ।

‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ,’ थापाले भने, ‘एउटा डाँडामा बसेर दुई-तीन लाख कमाउन सकिन्छ भन्ने मेरो परिकल्पनाको कुरा मैले गरेँ, कतिलाई रमाइलो कुरा पनि भयो । तर, त्यो इमाजिनेशन हो, त्यो ड्रिम हो । सम्भव छ। सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ ।’

अब युग ज्ञान अर्थतन्त्रमा प्रवेश गरिसकिएको भन्दै थापाले भने, ‘अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । त्यो नलेज इकोनोमीमा चाइनामा जन्मिएको एउटा केटाले डीपसिक बनाएर सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग कम्पिटिसन गर्न सक्छु भन्ने ठाउँमा पुग्दै गर्दाखेरी त्यो केले बनाएको छ? सब ठाउँमा सम्भावनाको नेटवर्क खुलेको छ ।’

ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै उनले विपन्न समुदाय उक्त अवसरबाट वञ्चित हुन नहुने बताए ।