रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम स्थगित

रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम स्थगित

पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि चौधरीलाई पक्राउ गरियाे : जनमत



काठमाडौं । रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार, संयुक्त कार्यदलको बैठकपछि एकताको नयाँ मिति तय गरिनेछ ।

पार्टी एकताको कार्यक्रमस्थल प्रज्ञाभवन पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । चौधरीलाई डिल्लीबजार कारागार पठाइएको अधिकारीले बताए ।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसैगरी जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नाउपाका संरक्षक चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

प्रवक्ता यादवले भने, ‘हामी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफलमा थियौँ । हामीले पनि गिरफ्तार गरेको भन्नेबारे सुनेका हौँ । किन लिएर गएका हो केही थाहा छैन ।’