श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उनले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘श्रमसंसार पोर्टल’ को शुभारम्भसमेत गरे ।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका हुने समेत बताए ।

सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढाएको उनले जानकारी दिए ।

श्रमसंसार पोर्टलबाट श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाई भौतिक उपस्थिति, प्रक्रियागत झन्झट हटाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजका सम्पूर्ण वर्गलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग गर्ने सरकारको विश्वास छ ।