काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल जयपुरमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
यो सिजनको आईपीएलमा राजस्थान र मुम्बईको यो समान ११औं खेल हो । यसअघि मुम्बईले १० खेलमा ६ वटा जितेको छ । १२ अङ्क रहेको मुम्बई तालिकाको तेस्रो स्थानमा छ ।
राजस्थानले समान १० खेलमा ३ खेल जितेको छ । राजस्थान ६ अङ्कसहित तालिकाको आठौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा अहिलेसम्म यी दुई टोलीबीच ३२ खेल भएकोमा मुम्बईले १६ र राजस्थानले १५ खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो ।
आज मुम्बईले राजस्थानलाई हराउन सकेमा तालिकाको पहिलो स्थानमा उक्लिनेछ । मुम्बई पाँच पटकको उपाधि विजेता टोली पनि हो ।
राजस्थानले पहिलो संस्करण सन् २००८ मा भएको खेलमा उपाधि जितेको थियो । यसपटक राजस्थानले कमजोर प्रदर्शन गरेको छ ।
प्रतिक्रिया