पाटन । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरी तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए ।
“देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ”, उनले भने ।
सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया