खुल्यो सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना र पठनपाठन

खुल्यो सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना र पठनपाठन



काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएपछि आजदेखि सामुदायिक विद्यालय खुलेका छन् ।

बुधबार सरकार र महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरू एक महिने आन्दोलनपछि विद्यालय फर्केका हुन् । यसअवधिमा रोकिएको भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा तयारी र पठनपाठनसमेत सुरू भएको छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका करिब २९ हजार विद्यालयका अधिकांश शिक्षकहरू चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौंकेन्द्रित आन्दोलनमा थिए ।

यही वैशाख २१ गतेदेखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ । शिक्षक आन्दोलनकै कारण स्थगित परीक्षा वैशाख २१ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित हुने भएको छ ।