काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए ।
संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरु हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ ।
त्यसैगरी नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया