नीति तथा कार्यक्रमबारे यस्ताे छ सत्तापक्ष र प्रतिपक्षको प्रतिक्रिया

नीति तथा कार्यक्रमबारे यस्ताे छ सत्तापक्ष र प्रतिपक्षको प्रतिक्रिया



काठमाडौं । सरकारले ल्याएकाे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे सत्तापक्ष र प्रतिपक्षले मिश्रित प्रतिक्रिया दिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे नेताहरूले मिश्रित प्रतिक्रिया दिएका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताए ।

उनले भने, “नीति कार्यक्रम समग्रमा परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, त्यसो हुन सकेन । तर समग्रमा ठीक छ । मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।”

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरेका हुन् ।

‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्‍याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो’, संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ ।’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताए ।

‘गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने मेरो अपेक्षा थियो । तर, मैले त्यस्तो पाइनँ,’ भट्टराईले भने, ‘निरन्तरतामै यो आयो । अहिलेको निम्ति त्यति पर्याप्त छैन । फेरि बजेटमा कस्तो व्यवस्था भएर आउँछ भन्ने हेर्न बाँकी छ ।’

नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका कुरा गरे पनि कार्यक्रममा कुनै छाँटकाँट नदेखिएको प्रतिक्रिया दिए ।

‘नीतिमा गन्तव्य स्पष्ट देखिएन । कार्यक्रममा नबोलेपछि बजेटमा आफूखुसी राख्न खोजेको हो कि जस्तो देखिन्छ’, पुनले भने, ‘संसदलाई छलेर नीति र कार्यक्रममा नभएको कुरा पछि बजेटमा राख्नु नैतिक होइन ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरे । उनले देशको समस्या समाधान गर्ने ढंगले आएको बताए ।

उनले भने, ‘कार्यक्रम आउँछन् तर कार्यान्वयन हुँदैन भन्ने कुरा पनि आउँछन् । तर सरकारले अघि सारेको कार्यक्रम सम्भव योग्य छन् । र सरकारले योजना बनाएरै ल्याएको छ ।’

नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले नीति तथा कार्यक्रम दुई दलबीच भएको सात बुँदे सहमति अनुसार नआएको प्रतिक्रिया दिए ।

उनले भने, ‘धेरैठाउँमा गरिनेछ, दिइनेछ भनिएको छ । तर निश्चित प्रतिवाद्धतासहित यो समयभित्र हामी सक्छौं भन्ने प्रतिबद्धतामा कमी पाएँ । सहमति अनुसार अहिलेसम्म जे भयो भयो, अब यसरी जान्छौं भन्ने कुरा छैन । संविधान संशोधनबारे पहिलाजस्तै सहमतिमा गरिने भनिएको छ । तर, ठोस प्रतिबद्धता छैन ।’