माओवादीले अब मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने

माओवादीले अब मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने



काठमाडौं । माओवादी केन्द्रले २ जेठपछि मध्यपहाडी राजमार्गकेन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

केही दिनअघिमात्रै माओवादीले हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान सकेको थियो । झण्डै २ महिना लगाएर गरिएको तराई मधेशकेन्द्रित जागरण अभियान सफल भएको भन्दै माओवादी उत्साही भएर पहाडकेन्द्रित अर्को अभियानमा लागेको हो ।

माओवादी केन्द्रले पहाडकेन्द्रित अभियान कहाँ बाट सुरु गर्ने भन्ने चाहिँ टुंगो लगाएको छैन । प्रचण्डनिवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भने पनि विस्तृत खाका भने तयार गरेको छैन ।

माओवादी केन्द्रका एक पदाधिकारी अनुसार जागरण अभियानको खाका भने अर्को बैठकले निर्णय गर्नेछ । माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान गर्ने पहिला नै अनौपचारिक रुपमा निर्णय भने गरिसकेको थियो ।