राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व निष्क्रिय हुँदै गयाे : एमाले

राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व निष्क्रिय हुँदै गयाे : एमाले



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व निष्क्रिय हुँदै गएको निष्कर्ष निकालेको छ । आइतबार बसेको पार्टी सचिवालयको बैठकले अस्थिरता मच्चाउने प्रयास भए पनि त्यो निष्क्रिय हुँदै गएको ठहर गरेको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका छन् । तर, उनीहरूको प्रयास कमजोर हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ ।’

अर्को प्रसंगमा उपमहासचिव ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको नारामा अन्य दलले चित्त दुखाउन नहुने बताए । उनले यो नारा सबैको भएको समेत बताए । सत्ता साझेदार नेपाली कांग्रेसमा नीति तथा कार्यक्रममा यो नारा उल्लेख भएको विषयमा प्रश्न उठेको थियो ।

ज्ञवालीले सो सोच तथा नारा पञ्चवर्षीय योजनामा समेत समावेश भइसकेको स्मरण गराउँदै यो कुनै एक दलको नारा मात्र नभएको बताए ।

यस्तै, कांग्रेसभित्रको आन्तरिक विवादले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न नहुने एमालेको निष्कर्ष छ । यो विषयमा एमाले सचिवालय बैठकमा छलफल भएको छ । ज्ञवालीले भने, ‘पार्टीभित्रका समस्या यदि राष्ट्रिय राजनीतिमा जोडिन थाले, त्यहाँ गएर समाधान खोज्न थालियो, त्यहाँभित्रको समस्यालाई त्यहाँ पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’