लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई छ: विमलेन्द्र निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई छ: विमलेन्द्र निधि



सर्लाही । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताएका छन् । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज शहीद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताए ।

यो व्यवस्थालाई जोगाइ रहन सके मात्र शहीदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गरे । संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गरे ।

उनले अबको १३ महिनापछि एमालेसँगको सातबुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताए । निधिले पछिल्लो समय मधेश प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।