राजनीतिक संयन्त्र खारेज गरे हुन्छ : सूर्य थापा

राजनीतिक संयन्त्र खारेज गरे हुन्छ : सूर्य थापा

सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने वक्तव्यले समाजमा ध्वनि प्रदूषण भयाे



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख नेताहरू बसेर छलफल गरी राजनीतिक संयन्त्र खारेज गर्न सकिने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच संयन्त्रले समस्या भयो भन्ने लाग्यो भने खारेज गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘यदि सत्ता साझेदार दलहरूबीच संयन्त्रको अभ्यास एक हिसाबले समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरी त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार दलभित्रबाट कसैले पनि गर्न हुँदैन । दुई दलले गरेका सहमतिलाई निष्कर्षमा पुर्‍याउने गरी काम गर्नुपर्ने होइन र? आन्तरिक प्रतिस्पर्धाको अभ्यास महाधिवेशनमा हुन्छ, त्यसले गठबन्धन र सरकारलाई प्रभाव पार्न हुँदैन ।’

उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई कांग्रेसकै ऊर्जा मन्त्री दीपक खड्काले हटाएको पनि बताए । साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेरै घिसिङ र ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाए पनि दोष प्रधानमन्त्रीलाई लगाउने गरिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।

सांसद थापाले सरकार आजै ढल्छ भन्ने वक्तव्यले समाजमा ध्वनि प्रदूषण भएको टिप्पणी गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै गठबन्धन बनेदेखि नै चलखेल गरेको बताए ।

उनले भने, “दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैनजस्ता वक्तव्यबाजीले मिडिया रंगिने र समाजमा ध्वनि प्रदूषण हुनेक्रम जारी छ । सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटा बकबासहरू निरर्थक सावित भएका छन् । त्यस्तो बोल्ने नेतृत्वलाई कतिवटा जिब्रा भएका र अहोरात्र कति झुटा बोल्न सक्ने काबिल नेता मानेर हामीले सुनिरहनुपर्ने हो ?”

उनले प्रचण्ड नेतृत्वको सरकारका पालामा पाकिस्तानी मोडेलको अभ्यास देखिएको टिप्पणी पनि गरे । “सुन तस्करीले सिंगो देश पहेँलपुर भएकै थियो । अनि त्यो सबै गर्ने मुहानहरू आज त बन्द छन् । त्यो बन्द भएपछि अस्थिरता मौलाउने खालका वक्तव्य बढिरहेका छन्,” थापाले भने ।