संसद्‍मा एमाले र माओवादी केन्द्रका सांसदबीच घोचपेच

संसद्‍मा एमाले र माओवादी केन्द्रका सांसदबीच घोचपेच



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चलेको छ । विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीबीच भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण देशको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्दै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गरे ।

‘अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सात बुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकारविरुद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ’, उनले भने ।

नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उनले आग्रह गरे । प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्दै सांसद थापाले सत्तापक्ष दल कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाए ।

आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो ।

त्यस्तै अघिल्लो सरकारले भ्रष्टाचार र तस्करीलाई प्रसय दिएको आरोप पनि लगाए । विसं २००७ देखि अहिलेसम्म निकै कम सरकारले मात्रै तीन वर्षभन्दा बढी सरकार चलाएको र पछिल्लो ७५ वर्षमा कुनै पनि सरकारले पाँच वर्ष पूरा अवधि काम गर्न नपाउनु लज्जाको विषय रहेको सांसद थापाको भनाइ छ । तीनकुने घटनाको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले लिनुपर्ने पनि उनको भनाइ छ ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्रीको प्रस्तावमा हटेको उल्लेख गर्दै सांसद थापाले त्यसको दोष प्रधानमन्त्रीमाथि थोपर्न नहुने बताए । यस विषयमा के भएको हो भनेर कांग्रेसका सांसदहरूले आफ्ना सभापतिलाई सोध्नुपर्ने पनि सांसद क्षेत्रीले बताए ।

प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाए । ‘यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ’, उनले भने, ‘देश सङ्कटको भुमरीतर्फ गइरहेको छ । जताततै अस्तव्यस्तता छ । नागरिकलाई सेवा प्रवाहमा समस्या छ । दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन ।’ अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उजप रहेको उनले टिप्पणीसमेत गरे ।

त्यस्तै सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ । ‘सरकारको व्यवहारबाट भ्रष्टाचारी र तस्करीहरू खुशी भएका छन् । समाजवादउन्मुख अर्थ व्यवस्था कतातर्फको यात्रा हो ?’, संसद्मा प्रश्न गर्दै उनले भने । शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहाइले देशको न्यायिक क्षेत्र र सुरक्षा क्षेत्रमाथि गम्भीर प्रश्न देखिएको शाहीले बताए । राज्यको कर्णाली क्षेत्रप्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको गुनासो गरे ।