रेशम चौधरी पक्राउ घटनाकाे निष्पक्ष छानबिन गर्न रञ्जिताकाे माग

रेशम चौधरी पक्राउ घटनाकाे निष्पक्ष छानबिन गर्न रञ्जिताकाे माग



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसमेत रहेकी चौधरीले पक्राउ घटनाबारे सार्वजनिक जवाफ माग गरेकी हुन् ।

“यस घटनाको गहिरो अध्ययन होस्, यहाँ केवल एक जनाको गिरफ्तारीमात्रै होइनन् । संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ,” उनले भनिन्, “वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीज्यूप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् । हामी जवाफको प्रतीक्षामा छौँ ।”

उनले पार्टी एकता कार्यक्रमस्थलबाट सुरु हुनुपूर्व कानुनी प्रक्रियाबिना गिरफ्तार गरिएको बताइन् । कसरी एक निर्वाचित प्रतिनिधि नेता कार्यक्रमस्थलबाट पक्राउ पर्छन् ? भन्दै प्रश्न गरिन् ।

उनले लोकतन्त्रप्रति विश्वास कायम रहने अवस्था बनाउन आग्रह गरिन् । “लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् । र, सत्यप्रति सरकारको जवाफ नटुटोस्,” उनले भनिन् ।

मंगलबार सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए । उनीहरूले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटनाबारे जवाफ माग गरेका थिए ।

सभामुखले आगामी वैशाख २५ गतेको संसद् बैठकमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएको जानकारी दिएपछि दुई दलका सांसद बसेका थिए । लगत्तै नीति कार्यक्रममाथि छलफल सुरु भएको छ ।

चौधरी राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन वैशाख १७ गते प्रज्ञाभवनबाट पक्राउ परेका थिए । सर्वोच्च अदालतका एक कर्मचारीले जारी गरेको अवैध कागजातबाट पक्राउ परेका उनी सर्वोच्चकै निर्देशनपछि वैशाख १७ गते नै छुटेका थिए ।