प्रचण्डलाई योगेशको प्रश्न : कुलमानलाई सरकारले हटाउँदा मुटुमा किला ठोकेजस्तो किन भएकाे ?

प्रचण्डलाई योगेशको प्रश्न : कुलमानलाई सरकारले हटाउँदा मुटुमा किला ठोकेजस्तो किन भएकाे ?

‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नुस्’



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न गरेका छन् ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

उनले भने- ‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईँले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो । तपाईँले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो ?’

नेता भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रचण्डलाई चेतावनी पनि दिए । ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्,’ योगेशले भनेका छन् ।

संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अ‍ोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने ? भन्ने उनको प्रश्न छ ।

देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको समेत बताए ।

भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे । उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए ।

उनले माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना धितो र बिना कागज सहकारीका नाममा गएको करोडौँ रकम अहिले पनि महालेखाले बेरुजुमा राखेको स्मरण गराए ।

भट्टराईले सरकारको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा र कार्यान्वयन नहुने खालको नभई यसपटक फरक ढंगले आएको बताए ।