प्रदीप नेपालको इच्छापत्र : मेरो शवमा झण्डा नओढाउनू, तामझाम नगर्नू

प्रदीप नेपालको इच्छापत्र : मेरो शवमा झण्डा नओढाउनू, तामझाम नगर्नू

विद्युतीय शवदाह गृहमा आजै दाहसंस्कार गरिने



काठमाडौं । मंगलबार अपरान्ह निधन भएका एमाले नेता प्रदीप नेपालको अन्तिम संस्कार सामान्य हिन्दू परम्पराअनुसार गरिने भएको छ ।

पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर झण्डा ओढाउने, श्रद्धाञ्जली कार्यक्रम राखिने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनेका थिए ।

एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।

नेता नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ ।

साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिएका छन् ।

नर्भिकको आईसीयू कक्षमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नेपाल सञ्जय थापाका नामबाट समेत परिचित थिए ।

नेता नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै लगभग निष्क्रिय थिए । उनी तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी भएनन् । नेकपा विभाजनपछि उनी एमालेमा रहेर पनि सक्रिय थिएनन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित नहुने भएका छन् । उनको सचिवालयका अनुसार परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी नहुने भएका हुन् ।