पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा ‘ओभरपास’ निर्माण शुरू

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा ‘ओभरपास’ निर्माण शुरू



सिराहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माण शुरू भएको छ । चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले ओभरपास निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिराहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिराहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको शहीद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो ।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डानुसारका ३२ मिटर चौडाका दुई ओभरपास निर्माण हुनेछन् ।

मिर्चैयाको चोकमा पनि ओभरपास निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँच वटा ‘अन्डरपास’ निर्माण हुनेछन् । लहानमा अन्डरपास पनि धमाधम बन्दैछन् ।

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार रुपैयाँ छ । पूर्वीखण्ड सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का लागेको छ । यस खण्डमा झन्डै ६० प्रतिशत भौतिक प्रगति भएको छ ।