सीमा नाकामा सुरक्षा निगरानी बढाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

सीमा नाकामा सुरक्षा निगरानी बढाउने केन्द्रीय सुरक्षा समितिको निर्णय



काठमाडौं । केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।

बैठकमा तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको थियाे । त्यस्तै भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो । उनीहरूको अवस्थाबारे कुटनीतिक माध्यमबाट बुझ्ने निर्णय पनि बैठकले गरेकाे छ ।

बैठकमा गृहमन्त्री लेखक, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागीलगायत सहभागी थिए ।

यसअघि सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइसकेको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको र सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको विज्ञप्तीमार्फत जानकारी दिएका थिए ।