काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
फाइल प्राप्त भएसँगै सबै प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । जिल्लाले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पठाएकोमा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको उनले जानकारी दिए ।
कार्यालयले उपप्रधान तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै पुरुषाेत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको हो । आरोप प्रमाणित भएमा उनीहरुलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
उक्त प्रकरणमा कांग्रेस नेता चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठ पनि मुछिएकोमा उनीहरुको निधन भैसकेको छ ।
प्रतिक्रिया