पोखरा महानगरपालिका–४ का वडाध्यक्ष पक्राउ

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष पक्राउ



पोखरा । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् ।

कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए ।

उक्त घटनालगत्तै कर्मचारी संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले मंगलबार नै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।