एमालेमा ओली समूहभित्रको द्वन्द्व उत्कर्षमा

एमालेमा ओली समूहभित्रको द्वन्द्व उत्कर्षमा



काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्व यतिबेला सार्वजनिक रुपमा छताछुल्ल हुन थालेको छ । पार्टीको ११ औं महाधिवेशन नजिक आइरहेको बेला जिल्ला–जिल्लामा आफ्नै कार्यकर्ताबीच रगताम्य हुने गरी कुटाकुट हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

ताप्लेजुङदेखि बैतडीसम्मका एमाले कार्यकर्ता स्पष्टरुपमा दुई समूहमा विभाजित छन् । विभाजित समूह अर्थात् संस्थापनइतरको नेतृत्व अहिलेसम्म खुलेको छैन । यद्यपि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वको लागि देखाएको चासो र उनको जिल्ला दौडाहले कार्यकर्ता तहमै विभाजनको बिजारोपण भएको बुझिएको छ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्टहरुको जमात ठूलो हुँदै गएको प्रमाण अहिले जिल्लामा देखिएको भिड्न्तले पुष्टि गर्छ ।

अध्यक्ष ओलीले केही दिन पहिले २५ वर्षसम्म पार्टीको नेतृत्व अरुलाई हस्तान्तरण नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसको अर्थ पुनः पार्टी नेतृत्व लिने प्रयास अरुले नगर्नु भन्ने हो । यदि कसैले ग-यो भने भीम रावल बनाइदिने अध्यक्ष ओलीको चेतावनी हो भन्ने कुरा पार्टी शीर्ष तहमा रहेका नेतृत्वले बुझेका छन् ।

सधैं अध्यक्ष ओलीको जयगान गाएर बस्ने कि नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्ने भन्ने प्रश्न एमाले शीर्ष तहमा रहेका नेताहरुमा तेर्सिएको छ । यसले पनि पार्टी कार्यकर्ता तहबाट विभाजन सुरु भएको बताइएको छ । विचार गर्नुपर्ने पक्ष चाहिँ के छ भने, कुटाकुटमा जति पनि कार्यकर्ता सतहमा उत्रिएका छन्, ती सबै ओली समूहकै हुन् ।

संस्थापनइतर समूह त छँदैछ, जो ओलीका खुल्ला आलोचक हुन् । उनीहरु आउँदो महाधिवेशनबाट विद्या भण्डारीलाई अध्यक्ष मान्न तयार छन् । अहिले कुटाकुटमा उत्रिएका सबै ओली समूहभित्रै कार्यकर्ता भएको जनकपुरस्थित सञ्चारकर्मी रामभरत साह बताउँछन् ।

धनुषाको ८औं जिल्ला अधिवेशनमा एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाबीच भएको द्वन्द्वको उदाहरण दिँदै साहले भने, ‘दुवै समूह अध्यक्ष ओली निकट हुन्, नेतृत्व लिने दिने कुरा नमिल्दा अधिवेशनले उग्र रुप लिएको हो ।’

धनुषाको अधिवेशनमा झडप हुँदा सत्यनारायण महासेठ र महेश दाससहित ५ जना घाइते भएका हुन् । महासेठ र दासको टाउकोमा गम्भीर चोट लागेको छ ।

मोरङ एमालेभित्रको द्वन्द्व चाहिँ फरक छ । त्यहाँ ओलीविरोधी समूह बलियो देखिएको छ । संस्थापन समूहको उम्मेदवारलाई पराजित गरेर अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । उनले संस्थापन समूहका राजकुमार ओझालाई पराजित गरेका हुन् । पूर्वजिल्ला अध्यक्ष विनोद ढकाल अहिले संस्थापनइतर मानिन्छन्, उनी यतिबेला पूर्वराष्ट्रपति भण्डारीका नजिक ठानिन्छन् ।

ताप्लेजुङ एमालेभित्रको झगडा पनि अध्यक्ष ओलीलाई नै अप्ठ्यारो पार्ने खालको छ । प्रदेश कमिटीले ताप्लेजुङका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङसहित दुईजनालाई निलम्बन गरेको छ । छानबिन कमिटीको प्रतिवेदन नआउञ्जेल उनीहरुलाई निलम्बन गरिएको भनिए पनि अध्यक्ष ओलीबाट पार्टीको जिल्ला नेतृत्व भण्डारी समूहमा सार्नका लागि भएको बताइएको छ ।

बुधबार पर्वतमा भएको कुटाकुट पनि ओली समूहभित्रकै द्वन्द्व भएको बताइएको छ । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमल्सिना र सांसद पदम गिरीबीच भएको यो द्वन्द्व ओली समूहभित्रकै हो । बागलुङका दिपक आचार्य भन्छन्, ‘जिल्लाका सिनियर नेता तिमल्सिना राष्ट्रियसभामा पदावधि सकिएपछि बेरोजगारजस्तै भए । उनलाई पद चाहिएपछि द्वन्द्व सुरु भएको हो ।

युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भए ।

एमालेभित्रका यी सबै प्रतिनिधि घटनामात्र हुन् । पार्टीभित्रको द्वन्द्व भुसको आगोझै भित्रभित्रै सल्किरहेको छ । राजनीतिक विश्लेषक सुवास साह भन्छन्, ‘एजेन्डामा भएको द्वन्द्वले पार्टीलाई फुटसम्म पुर्‍याउँछ, तर, एमालेको यो द्वन्द्व पदका लागि भएकाले यसलाई सामान्य रुपमा लिनुपर्छ । किनभने राजनीति नेतृत्वका लागि गरिन्छ, नेतृत्व कसैले किस्तीमा हालेर दिँदैन, द्वन्द्व गर्नैपर्ने हुन्छ ।’

एमालेभित्रको पछिल्ला परिघटनाले ११औं महाधिवेशनमा अध्यक्ष ओलीको नेतृत्व निरन्तरता सजिलो नहुने अनुमान लगाउन कठिनाइ नहुने विश्लेषण गरिएको छ ।