आन्दोलन कमजोर ठाने बढारिनुपर्ला : राजेन्द्र लिङदेन

आन्दोलन कमजोर ठाने बढारिनुपर्ला : राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलन निष्कर्षमा पुर्‍याउने दाबी गरेका हुन् ।

आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने उनले चेतावनी समेत दिए । “यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ । आग्रह छ, बढार्न नपरोस्,” उनले भने ।

अब बल सरकरको कोर्टमा रहेको समेत उनले बताए । “बल सरकारको कोर्टमा छ । कुनै दमनको जालझेलको सहारा लिएर होइन । समझदारीमा आउनुस्,” लिङदेनले भने ।

राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको उनले बताए । अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताए ।

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे ।

लिङ्देनले आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गरे ।

राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि आगामी जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने घोषणा राजवादीले गरेका छन् ।