काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरेको ४२ औं दिनमा प्रहरीले उनीमाथि तेस्रो अभियोग थपेको छ । उनलाई ‘आपराधिक उपद्रव’ को नयाँ अभियोग थमाइएकाे हाे ।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि प्रहरीले राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर काठमाडौं जिल्ला अदालतसँग म्याद लिइरहेको थियो ।
आज जिल्ला अदालत काठमाडौँले मिश्रसहित २४ जनालाई सातौँ पटक थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बयानसमेत भइसकेको र कुनै नयाँ प्रमाण फेला नपरेका कारण मिश्रलाई रिहाइ गर्न चौतर्फीरुपमा आवाज उठिरहँदा दवावमा परेको प्रहरीले उनको हिरासत बास लम्ब्याउन नयाँ अभियोग लगाइएको हो ।
आफूलाई तेस्रो अभियोग थपिएपछि मिश्र आज इजलासमा आक्रोशित हुँदै के गर्न खोजिएको हो भनेर न्यायाधीशहरुप्रति पनि गुनासो पोखेका थिए ।
मिश्रले न्यायाधीशसमक्ष राज्यले पुनः आफूमाथि कालो टिका लगाइदिएको भन्दै भने, ‘आज ४२ औं दिन राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ । ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरको टिका बोकेर हिँडेको थिएँ । फेरि आपराधिक उपद्रवको टिका लगाइएको छ । त्यो टिका पुछ्ने अधिकार, निष्ठा यो न्यायालय र बेञ्चमा हुन्छ भनेर केही कुरा राख्छु ।’


प्रतिक्रिया