काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् ।
शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ । प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुपर्यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको छ ।’
संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । महतका अनुसार टीआरसीलाई टुंगोमा पुर्याउन संरचना बनाउन अन्य दलसँग छलफल गरिने भएको छ । बैठकमा शिक्षा विधेयकका बारेमा पनि छलफल भएको महतले जानकारी गराए ।
उनले भने, ‘टीआरसी र बेपत्ता पारिएका व्यक्तिहरू टुङ्गो लगाउनुपर्ने अवस्था छ । यो धेरै ढिलो भइसकेको अवस्था छ । कानुन हामीले टुङ्ग्याऔँ । सर्वोच्च अदालतको जुन परिमार्जन गर्ने आदेशपछि । तर अझै पनि त्यो संरचना नबन्नाले काम अगाडि बढेको छैन । यसलाई चाँडो टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही किसिमबाट सम्बन्धित स्टेक होल्डर दलहरूसँग पनि कुराकानी छिटो अगाडि बढाउने र यसलाई निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरूको विषयमा पनि, सत्य निरूपण र मेलमिलापको विषयमा पनि टुङ्गो लगाउने गरेर यो कमिसन अगाडि बढाउनुपर्छ भनेर एउटा निष्कर्ष निकालेका छौँ । जति पनि संवैधानिक संरचनाहरू छन्, त्यसलाई पनि पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्छ भन्ने कुरा गरेका छौँ ।’
यसैगरी, कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको छ ।
याे पनि : भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् : कांग्रेस
प्रतिक्रिया