प्रदेश खारेज गरे राजतन्त्रको मागबाट पछि हट्ने राजेन्द्र लिङ्देनको संकेत

प्रदेश खारेज गरे राजतन्त्रको मागबाट पछि हट्ने राजेन्द्र लिङ्देनको संकेत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले अनावश्यक संरचना खारेज गर्ने भनेर भनेका छौँ । यो सरकार र सरकारको नेतृत्व गर्ने तथा समर्थन गर्नेहरूलाई थाहा छ कि यो प्रदेश संरचना अनावश्यक हो भन्ने कुरा । फजुल खर्चको मुख्य समस्या प्रदेश संरचना हो भन्ने थाहा छ । प्रदेश खारेज गर्ने कुरा गरौँ न सबैको सहमतिमा, हामी समर्थन गर्छौँ । यो व्यवस्था पनि अगाडि बढ्दै जान्छ । सबै अटाउने मौलिक व्यवस्था निर्माण गरेर जाऔँ। यो कसैलाई निषेध गर्नुपर्छ भनेर भनेको होइन ।’