सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बर्तौला

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बर्तौला



काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।

उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए । उनले दलहरू बिच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको जानकारी दिए । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उनको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गरे । उनले सरकारले छलफललाई निष्कर्षमा पुर्‍याएर छिट्टै नियुक्ति गर्ने बताए ।

उनले भने, ‘नियमित प्रक्रियाकै ढङ्गबाट यो अगाडि बढेको छ । केही दिनभित्रैमा तपाईंहरूले गभर्नर नियुक्ति भएको समाचार सुन्न पाउने हुने छ । केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेवारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ । र केही दिनभित्रमा यो निर्णय आउँछ । थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्थाविरुद्धको कुनै पनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताए । उनले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरूले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाए । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनै पनि नेपाली जनता तयार नभएको उनको भनाइ छ ।