काठमाडौं । अन्ततः नेपाली कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गरेको छ । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको व्यापारिक पार्टनर हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएको गृहमन्त्री लेखकले बताए ।
गर्भनरमा प्रस्ताव गरिएका चितवन निवासी पौडेल परराष्ट्रमन्त्री डा. आरजुको व्यवसायिक पार्टनर हुन् । नेपालको सबैभन्दा महँगो स्कुल युलेन्समा उनीहरु दुवै साझेदार हुन् । त्यत्ति मात्र होइन, मन्त्री राणाको सबै हिसाबकिताव राख्ने र आर्थिक सल्लाह दिने काम पौडेलले नै गर्छन् । गत संघीय निर्वाचनमा पौडेलले कांग्रेसले चितवन–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित उक्त क्षेत्रमा पौडेल तेस्रो भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ। दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।
प्रतिक्रिया