राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाऔं : रामहरि खतिवडा

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाऔं : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै खतिवडाले यसो गरे सरकारको खर्च कटौती हुने धारणा राखे ।

सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको उनले बताए ।

“सार्वजनिक ऋण अहिले २६ अर्बभन्दा बढी पुगेको छ । राजस्वले साधारण खर्च धान्ने अवस्था छैन । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ”, सांसद खतिवडाले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने निवास फरक रहने अवस्था भयो भने यसले खर्च कटौतीमा सहयोग पुग्छ ।”

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले सरकारसँग संसद्लाई ‘बिजनेस’ दिन माग गरे । उनले संविधान संशोधनका लागि संसदीय समितिमा उठिरहेको विषयतर्फसमेत ध्यानाार्कषण गराए ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले सरकारसँग नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तलब र सुविधा वृद्धिको माग गरे । उनले वैदेशिक रोजगारीको बाध्यात्मक स्थितिको अन्त्यका लागि आन्तरिक रोजगारीको आर्कषण बढाउन तलब वृद्धि आवश्यक रहेको धारणा राखे ।