काठमाडौं । संसदमा विचाराधीन ६ विधेयक यथाशीघ्र पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै ६ वटा विधेयक शीघ्र पारित गर्न संसदसमक्ष प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्रीका अनुसार वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक पारित हुनुपर्ने बताए ।
त्यस्तै विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्नुपर्ने बताएका हुन् ।
विद्यालय शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने गरी सरकार नेपाल शिक्षक महासंघसँग सहमतिसमेत गरेको छ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । प्रधानमन्त्रीले जवाफ दिएपश्चात् नीति तथा कार्यक्रममाथि प्राप्त भएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने कार्यसूची छ ।
प्रतिक्रिया