विदेशी विनिमय सञ्चिति २४ खर्ब माथि, घट्याे महँगी

विदेशी विनिमय सञ्चिति २४ खर्ब माथि, घट्याे महँगी



काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २४ खर्बमाथि रहेको छ । २०८१ चैत मसान्तमा यस्तो सञ्चिति २४२६ अर्ब ८४ करोड पुगेको हो ।

२०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस अवधिमा १८.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांक अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१३६ अर्ब ४६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वृद्धि भई २९० अर्ब ३८ करोड कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् ।

घट्याे महँगी

अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थितीमा गत वर्षको तुलनामा यो वर्ष महँगी घटेको हो ।

चालु आव चैत महिनासम्म मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो ।

यो वर्ष पेय पदार्थ समूहको मूल्यवृद्धि २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत थियो ।

यस्तै चैत मसान्तसम्मको खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूल ९.०७, दाल तथा गेडागुडी ६.५८ र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।

तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसला २.३२ र माछा तथा मासुको ०.८९ प्रतिशत घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ७.०१, मदिराजन्य पेय पदार्थ ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशत बढेको छ ।