भारत र पाकिस्तानको हात हालाहाल लडाइँमा परिणत नहोस् भन्ने कामना थियो : प्रधानमन्त्री

भारत र पाकिस्तानको हात हालाहाल लडाइँमा परिणत नहोस् भन्ने कामना थियो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् ।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।

उनले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । प्रधानमन्त्री ओलीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्विनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।